निर्णय निस्सन्तान जीवन यात्राको

Please click here for an English version of the essay.

“महिनावारी भनेको गर्भ रहन नसकेको डिम्बको आँसु हो” — केटाकेटी हुँदा रेडियोमा सुनेको यो वाक्य म अझै भुल्न सक्दिन। सानोमा त यसलाई नै सत्य मानियो। तर पछि प्रश्न उठ्न थाल्यो — के महिलाको जीवनको अस्तित्व गर्भाशयमा अडिएको छ? के गर्भवती हुन नसक्ने वा गर्भाशय नै नभएका महिला नै होइनन्?

म एक विवाहिता महिला जसले बच्चा नजन्माउने िर्णय गरेको छ। पन्ध्र वर्ष अघि हामीले जीवन यात्रा शुरु गर्दा हाम्रो उद्देश्य, मूल्य, मान्यता, पैसा प्रतिको धारणाका साथसाथै बच्चा जन्माउने कि नजन्माउने भन्ने बिषयमा निक्कै छलफल गर्यौं। हाम्रा तर्क फरक फरक भए पनि हामी एउटै निष्कर्षमा पुग्यौं — बच्चा नजन्माउने। हामी परिवारबाट टाढा विदेशमा बस्थ्यौं। हाम्रो सपोर्ट सिस्टम थिएन त्यति बेला। हामीलाई वंश बढाउनु पर्छ भन्ने पनि लाग्दैन। हामीले निर्णय गर्यौं कि यदि पछि बच्चा चाहिन्छ नै जस्तो लाग्यो भने अडप्ट गर्ने। हामीले बेला बेलामा यो निर्णयलाई केलाएका छौं र निष्कर्ष अझै त्यहि नै छ — बच्चा बिनाको जीवन नै हाम्रो लागि सहि हो।

यो निर्णय हाम्रो समाज, परिवार र हाम्रै समकालीन कति साथीहरुलाई पनि पचेको छैन। आफन्त र साथीहरु मात्रै होइन ट्याक्सी चढ्दा ड्राइभर, छिमेकको किराना पसले, सभा समारोहमा भेट्ने अपरिचित वा अर्धपरिचित व्यक्तिहरुले पनि मातृत्वको महत्वको व्याख्यान गर्न पछि पर्दैनन् — नेपालमा मात्रै होइन, विदेशमा पनि। नेपालमा त एउटा सभामा एक महिलाले मेरो निर्णय गलत हो भन्ने सार्वजनिक रुपमा घोषणा नै गर्नु भयो। उहाँलाई म त्यतिबेला चिन्दिन थिएँ — पछि थाहा भयो उहाँ त एक महिला अधिकारकर्मी हुनु हुँदो रहेछ। जब महिला अधिकारकर्मीलाई नै मेरो शरीरको फैसला गर्ने अधिकार मेरो हो भन्ने कुरा पच्दैन भने पुरै समाजको त के कुरा?

आज भोलि बच्चा नजन्माउने निर्णय गर्ने व्यक्तिहरुको संख्या बिस्तारै बढ्दै छ। तर पनि हाम्रो परिवारमा बच्चा नजन्माएका विवाहित जोडी हामी मात्रै छौं। पन्ध्र बर्ष अघि त एकदमै गाह्रो थियो — बर्षौं लाग्यो परिवारका सदस्यहरुलाई सम्झाउन। अहिले पनि पुरै सफल भएका छैनौं।

हामीलाई धेरै सोधिने प्रश्न — बच्चा भएन भने बुढेसकालमा कसले हेर्छ? बच्चा हुँदैमा उनीहरुले पछि हेर्छन भन्ने के ग्यारेन्टी छ? उनीहरुका आफ्नै इक्षा, आकांक्षा हुनेछन। उनीहरुको जीवनले कता लग्ला — हामी संगै बस्न मिल्छ भन्ने पनि छैन, बस्नु पर्छ भन्ने पनि छैन। अविभावकहरुको काम बच्चा हुर्काउने र सक्षम बनाएर आफ्नो बाटो लाग्न मद्दत गर्ने हो। थाहा छ, यो विचार आत्मसात गर्न नेपाली समाजमा धेरैलाई गाह्रो पर्छ।

हामी आफैँ पनि पढाइ र कामको सिलसिलामा विश्वको अर्को कुनामा दुई दशक भन्दा बढी समय बिताइसकेका छौं। यसरी परिवार बाट टाढा बसिरहेका हामी मात्रै त छैनौं। आजकाल त यहाँ विदेशमा परिवार नभएकाहरु भेट्टाउन पनि गाह्रो हुन्छ। “आप्रवासी कामदार”हरु त आफ्नो कार्यकाल सिध्याएर फर्किन्छन तर विदेशमा परिवार बसाइसकेकाहरु कति जना आमा बुवाको रेखदेख गर्नु पर्छ भनेर फर्किन सक्नेछन्? त्यसमाथि पनि बच्चा भएकाहरु त उनीहरुको स्कूल र अन्य क्रियाकलापले गर्दा अकस्मात केहि परिहाल्यो भने पनि फर्किन गाह्रो हुन्छ। आइहाले पनि लामो समय बस्न सक्दैनन्।

भन्ने नै हो भने हाम्रो बच्चा नभएको कारणले हामी परिवारको लागि चाहिँदा आइहाल्न र लामो समय बस्न सक्षम छौं। यसपाली त लक्डाउनले गर्दा लामो समय काठमाडौँमा बसियो। यो भन्दा अघिल्ला वर्षहरुमा पनि हामी दुई महादेश बीच समय बाँडेर बसेका थियौं। हामीलाई न त स्कूलको समयतालिकाले बाँध्छ न त बच्चाहरुको भविष्यको लागि भनेर मरी-मरी काम गर्ने बाध्यता नै छ। यो स्वतन्त्रताले गर्दा हामीले परिवार मात्र होइन समाजको लागि समय निकाल्न सकेका छौं। पाँच वर्ष अघि नेपालमा भुकम्प जाँदा रात-दिन खटेर राहत र पुनर्निर्माणको लागि पैसा उठाउन सक्षम भयौं । अहिले हामी दुवै कोरोनाको बारे जनचेतना बढाउने कोशिशमा लागेका छौं — एउटा स्वयंसेवक समूहमा आवद्ध भएर कोडिङ्ग गर्ने, प्रबन्ध मिलाउने आन्तरिक काम र बाहिर हल्ला गर्ने काम बाँडीचुंडी गरिरहेका छौं। त्यस बाहेक पनि विभिन्न संघ संस्थाका साथीहरुलाई समय, सल्लाह, सहयोग सक्दो दिईराखेका छौं।

मुख्य कुरा बच्चा नभएर हाम्रो उत्पादकता बढ्यो भन्ने होइन। बच्चा भएका साथीहरु हामीभन्दा निक्कै बढी सक्रिय पनि हुनुहुन्छ। कुरा हाम्रो जीवन आफ्नै इक्षाले बाँच्न पाउने स्वतन्त्रताको हो र कुरा हो संवेदनशीलताको पनि। मलाई मातृत्वको बारे भाषण दिने धेरै जसो शुभचिन्तकहरुलाई यो थाहा हुन्न कि मेरो स्वास्थ्य कस्तो छ, म गर्भधारण गर्न सक्षम पनि छु कि छैन। विवाह अघि नै बच्चा नपाउने निर्णय गरेकोले मैले मेरो प्रजनन क्षमताको बारे धेरै सोच्नु परेको छैन। तर दशमा एक जना भन्दा बढी महिला जसले चाहेर पनि गर्भधारण गर्न संघर्ष गर्नु पर्ने हुन्छ वा एकमा पाँच महिला जसको नचाहँदै पनि गर्भपात हुन्छ, उनीहरुको लागि प्रजनन स्वास्थ्यका कुरा सैद्धान्तिक व्यायाम मात्र हुँदैन। मैले धेरै साथीहरुको संघर्ष नजीकैबाट देखेको छुँ। मातृत्वको गुणगान गर्न अघि एक चोटि सोच्नुस कि तपाईंले कतै आलो घाउमा नून खुर्सानी छर्ने काम त गरिरहनु भएको छैन?

अर्को कुरा, संधै मातृत्वको बयान हुन्छ तर पितृत्वको कुरा किन हुँदैन? बच्चा नपाउने निर्णय हामी दुवै जनाको भए पनि भाषण र प्रश्नको ओइरो जति मैले थापेको छुँ त्यसको सानो भाग मात्र मेरो श्रीमानले बेहोर्नुपरेको छ । चाहेर पनि बच्चा पाउन नसक्ने जोडीहरु मध्ये २०-३० प्रतिशतमा कारक पुरुष भए पनि समाजले दोष संधै महिलालाई नै दिन्छ र सर्भे, तथ्याड़कहरु पनि धेरै जसो महिला माथि नै केन्द्रित हुन्छन। जसले गर्दा महिलाहरु आफैलाई दोषी ठान्छन। समाजको यो दोहोरो मापदण्डले महिलाको गर्भाशयलाई पनि छोडेको छैन।

म त मान्दिन मेरो अस्तित्व मेरो गर्भाशयमा अडिएको छ। मेरो परिचयमा आमा शब्द नभए पनि सूची लामै छ — म छोरी, साथी, सहकर्मी, दिदी, बहिनी, फुपु, सानीआमा, ठूलीआमा, भान्जी, भदै जस्ता धेरै भूमिका खेल्छु र मेरो आफ्नै लागि मेरो परिचय हो एक अधिकारकर्मी र अहिले बामे सर्दै गरेको एक लेखक।

म आफ्नो जीवन आफ्नो खुशीले बाँच्न चाहन्छु र त्यसमा पुरा साथ दिने जीवनसाथी पाएकी छुँ। जीवन साथी रोज्ने, विवाह गर्ने, बच्चा पाउने यी सबै व्यक्तिगत स्वतन्त्रताका कुरा हुन्। यदि हाम्रो आफ्नो जीवनको लागि हामीले गरेको निर्णय तपाईंलाई पच्दैन भने हाजमोला खानुस — हामीलाई हाम्रो जीवन बाँच्न दिनुस।

organizer at heart. strategy consultant by trade. mostly prose with occasional forays into poetry. https://tinyletter.com/LunaRanjit

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store