“जातको प्रश्न”ले उठाएका प्रश्नहरु

कान्तिपुर टेलिभिजनमा हाल १२ एपिसोडको छोटो शृंखला “जातको प्रश्न” प्रसारण भैरहेको छ। शायद महानायकको रुपमा चिनिने राजेश हमाल प्रस्तोता रहेको कारणले पनि होला यो कार्यक्रम धेरै दर्शकहरु माझ पुग्न सफल भएको छ। लाखौँ मान्छेले हरेक हप्ता नबिराई हेरेर जातको बिषयमा छलफल नेपालभरी र नेपाली आप्रवासी भएका सबै ठाउँमा पुगेको छ।

केहि आलोचना पनि भएको छ — कार्यक्रमको प्रस्तुति, अतिथीहरुका साथसाथै राजेश हमालको छनौटको बारे पनि। केहि हदसम्म यी प्रश्नहरु वैध नै छन्। मेरा पनि केहि आलोचनाहरु छन्। भन्नै पर्दा जातको प्रश्न एउटा औसत कार्यक्रमको रुपमा प्रस्तुत भएको छ। केहि त्रुटी, कमजोरीहरु छन्। कतै कतै अलि गृहकार्य गर्न नपुगेको हो कि भन्ने पनि लाग्यो। निखार्न मिल्ने ठाउँ अझै छन्। तर कोरोनाको महामारीको समयमा लक्डाउनको अनिश्चितताको बीचमा कार्यक्रम बनाउन लागिपरेको टीमको सराहना गर्नैपर्छ।

मेरो मुख्य प्रश्न थियो सबै जसो अतिथीहरु “उपल्लो” जातका पुरुष नै किन? के अरुले जातको बिषयमा कुरा राख्न मिल्दैन? तर पछि रियलाइज भयो कार्यक्रममा अतिथीहरु निर्णायक तहका व्यक्तिहरु थिए। भने पछि सोध्नु पर्ने प्रश्न त अर्कै रहेछ — निर्णायक तहमा किन सबै उपल्लो जातका पुरुषहरु छन्? महानायकको पदवीका दाबेदार हमाल नै किन? कलाकारदेखि पत्रकार, न्यायाधीश, प्रमुख जिल्ला अधिकारी, सरकारी कर्मचारी, राजनीतिज्ञसम्म नेपालको सम्पूर्ण क्षेत्रमा एउटै समुदायको बाहुल्यता किन?

कार्यक्रमको गुणस्तरको कुरा गर्ने नै हो भने के कान्तिपुर टेलिभिजन वा अरु नेपालमा बन्ने कार्यक्रमहरुमा सबै कुरा मिलेका हुन्छन? सयमा एक-दुई मात्रै त हो नि उत्कृष्ट हुने। के उपेक्षित समुदायलाई गल्ती गर्ने, औसत हुने अनुमति छैन? के दलित समुदाय वा अरु उपेक्षित वर्गको नेतृत्वमा बनेको हरेक कार्यक्रम उत्कृष्ट हुनै पर्छ?

हुन त जातको विषयमा राष्ट्रिय टेलिभिजनमा यसरी कुरा राख्न पाउने थोरै मात्रै अवसर हुने हुनाले सबै पाटा सम्हालेर राम्रो गरेर देखाउने मौका गुमेको हो कि भन्ने पनि लाग्न सक्छ। यस अघि जातिभेदको आवाज देशभरी फैलाएको टेलिशृंखला दलन आएको करीब एक दशक पछि जातको प्रश्न आएको छ। फेरी अर्को अवसर कहिले आउने हो? त्यसैले यहि मौकामा एकदम राम्रो गरेर देखाउनु पर्छ। हो, सकेसम्म राम्रो गर्ने कोशिश त हुनुपर्छ तर साथसाथै यो पनि सोध्नु पर्यो कि — हामीले जातिभेदको कुरा राष्ट्रिय टेलिभिजनमा उठाउन किन एक दशक पर्खिनु पर्यो? के अझै अर्को कार्यक्रमको लागि एक दशक पर्खिनु पर्ने हो?

यदि दश वर्षमा एउटाको साटो बर्षमा दश वटा जात सम्बन्धि कार्यक्रम आउँदो हो त के हामी हरेक कार्यक्रमलाई यसरी नै आक्थ्यौं? शायद निष्पक्ष रुपमा कुरा गर्न, मूल्याङकन गर्न र आलोचनालाई अङ्गाल्न पनि सजिलो हुन्थ्यो होला। जातको प्रश्न जतिसुकै उत्कृष्ट भए पनि, जति सुकै हिट भए पनि एउटा टेलिभिजन कार्यक्रमले जातिभेद निम्ट्यान्न पार्ने पनि त होइन। यो त जातिभेद विरुद्धको अभियानमा एउटा अर्को सानो पाइला मात्रै हो र आम संचार क्षेत्रमा काम गर्ने, सिक्ने एउटा अवसर पनि।

राजेश हमाल, कान्तिपुर टेलिभिजन र निर्माताहरुको आलोचनाको बीचमा बिर्सिएको नाम हो निर्देशक शान्ता नेपालीको। यस कार्यक्रमबाट एक युवा दलित महिलाले आफ्नो कला खार्ने मौका मिलेको छ। यसो भन्दै दलित महिलाले गरको यत्ति पनि धेरै हो भन्दै ताली बजाउने भनेको होइन — त्यो त प्रशंसाको नाममा गरिने अपमान हो। तर सिक्ने त गर्दै गर्दै नै हो, यदि अभ्यास नै गर्न नपाए कसरी बन्छ प्रतिभाको पाइपलाइन?

पाइपलाइनको कुरा गर्दा नेपाल भाषाको पहिलो फिल्म सिलु सम्झिन्छु। नेवा समुदायबाट निर्देशक नभेटिएर निर्देशनको जिम्मा प्रदीप रिमाललाई दिईएको थियो। नेपाल भाषा बोल्ने निर्देशक हुनु पनि कसरी — सिलु बन्न अघि नेपाल भाषा मात्र होइन खस नेपाली बाहेक कुनै पनि भाषामा फिल्म बनेकै थिएन नेपालमा। निर्देशक मात्र होइन अनुभवी कलाकार पनि कमै थिए। मदन कृष्ण, हरिबंश बाहेक सबै जसो कलाकारहरुको लागि पहिलो फिल्मी अवसर थियो। सिलु बाट करियर शुरु गरेका कलाकार नवीना श्रेष्ठ मुलधारका फिल्ममा पनि पुग्न सफल भएका थिए।

प्राविधिक रुपमा सिलु एउटा औसत फिल्म थियो। अहिले जस्तो सामाजिक सन्जाल हुँदो हो त धेरै आलोचना सुनिन्थ्यो होला । धेरै जसो आलोचना सहि पनि हुन्थे होलान्। तर त्यस फिल्मले मेरा अजी जस्ता नेपाल भाषा मात्रै बुझ्ने हजारौं व्यक्तिहरुलाई हलमा गएर फिल्म हेर्ने मौका दियो। साथसाथै अन्य भाषाका फिल्म बनाउने बाटो खुल्यो। एक भाषा-एक देशको नीति भएको बेला अर्को भाषामा फिल्म बनाउनु मात्रै पनि एक किसिमको प्रतिरोध थियो। यी अन्य पाटाहरुको मुल्यांकन कसरी गर्ने?

यो त भयो तीन दशक अगाडीको कुरा। अहिले पनि बराबरी र सम्मानित प्रतिनिधित्वको लागि संघर्ष जारी नै छ। संघर्ष दलित समुदायको मात्रै होइन। मधेसी मूलका कलाकार, निर्देशकहरुलाई अवसर नदिने, अन्य समुदायका व्यक्तिले कालो मोसो दलेर कमेडिको नाममा स्टिरियोटाइप गर्ने, खिसी गर्ने उदाहरणहरु त हामीले यसै वर्ष पनि देखेकै छौं। त्यस्तै अन्य अल्पसंख्यक समुदायहरुलाई गुण्डा, आतंकवादी आदि रुपमा प्रस्तुत गर्ने चलन पनि छँदैछ ।

समस्या नेपालमा मात्रै पनि होइन। समसामयिक हलिवुडकै कुरा गर्ने हो भने नेपालमा पनि शुटिङ्ग भएको डाक्टर स्ट्रेन्ज फिल्ममा तिब्बती पुरुष पात्रलाई बदलेर गोरा महिला बनाइएको थियो र त्यसलाई नारीवादको उदाहरणको रुपमा प्रस्तुत गरिएको थियो। २०१७मा घोस्ट इन द शेलमा जापानी पात्रलाई गोरा कलाकार स्कार्लेट जोहान्सनले खेलेर विवाद भएको थियो।

त्यसको एक वर्ष पछि क्रेजी रिच एसियन फिल्म बन्यो। ठुलो बजेटमा नामी कलाकारहरु भएको फिल्म भए पनि त्यसमा समस्याहरु थिए। एसियन समुदाय भित्रै पनि धेरै आलोचना भए फिल्मको वर्गभेद, रंगभेदको बारे। तर बीस वर्ष पछि पुरै एसियन कलाकारहरु भएको फिल्म हेर्न पाएर संयक्त राज्य अमेरिकामा रहेका अधिकांश एसियनहरु खुशी थिए। अदृश्य भएर बसेको समुदाय मुलधारमा आउनु नै पनि एक किसिमको क्रान्ति हो। क्रेजी रिच एसियनले गर्दा हलिवुडमा अहिले अरु एसियन मूलका लेखक, निर्देशक र कलाकारहरुको लागि बाटो खुलेको छ र अरु प्रगतिशील फिल्म, टेलिशृंखलाहरु आउने बाटो पनि केही हदसम्म खुलेको छ।

त्यसरी नै जातको प्रश्नले दलित समुदायको मुद्दालाई राष्ट्रिय मंचसम्म फेरी पुर्याएको छ। शायद यसले दलित मात्र होइन अन्य समुदायका नसुनिएका कथाहरु बाहिर ल्याउन पनि सहयोग गर्ने छ। त्यसैले दलित समुदायका साथसाथै जातिभेद अन्त्य गर्न लागिपरेका हामी सबैले यसका कमी कमजोरीहरुलाई आत्मसात गर्दै खुशियाली मनाउनु पर्छ भन्ने लाग्छ।

मुख्य प्रश्न त अब पाखा पारिएको, ओझेलमा परेको समुदायहरुले आफ्नो कथा राष्ट्रिय मन्चमा ल्याउनको लागि दशक-दशक कुर्न नपर्ने वातावरण बनाउन तपाईं हाम्रो भूमिका के हो?

organizer at heart. strategy consultant by trade. mostly prose with occasional forays into poetry. https://tinyletter.com/LunaRanjit

Get the Medium app

A button that says 'Download on the App Store', and if clicked it will lead you to the iOS App store
A button that says 'Get it on, Google Play', and if clicked it will lead you to the Google Play store