प्रतिरोध बोल्छ मेरो उपनिवेशित जिब्रो

मेरो जिब्रो एउटा उपनिवेश जहाँ मलाई पूर्वजहरुसँग जोड्ने मेरो मुटुको भाषालाई विस्थापित गरेर आधिपत्य जमायो बाँच्नको लागि चाहिने भाषाले हाम्रा कथाहरु दबाउँदै हाम्रा स्मृतिका पानाहरु मेटाउँदै आगन्तुक शब्दका आवाजले जरा गाडे मेरो बाल मस्तिस्कमा अनि, लज्जित बनायो आदेश अनुसार बटारिन नमान्ने जिब्रोले गलत, अप्रासंगिक शब्द फुत्किने डरले मुटुमा रातदिन राज गर्‍यो तैपनि मेरो जिब्रोको एक कुनामा प्रतिरोधको आगो बलिरह्यो हार नमानी मां भाय् बोलिरह्यो जेल परेका कवि, निर्वासित लेखकहरुको सम्मानमा हाम्रो भूत, भविष्य, वर्तमान उत्खनन गरिरह्यो र संरक्षण गरिरह्यो हाम्रा बाखं, हाम्रा लुमन्ति